

१० जेष्ठ २०७८, मंगलवार
जेठ-११, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख कोरोना खोपका लागि विभिन्न ४ खोप उत्पादक कम्पनीलाई पत्राचर गरेको छ।
मन्त्रालयद्वारा हिजो आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले नेपालमा दर्ता भएका कोरोना खोप कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एण्ड जोन्सनलाई ५० लाख डोज खोप खरीदका लागि पत्राचार गरेको जानकारी दिएका थिए।
उनले नेपालमा खोप ल्याउनका लागि सुरुवातमा कुटनीतिक तवरबाट खोप उत्पादन गरिरहेका देशलाई समेत पत्राचार गरेको बताउँदै ५० लाख खोप खरीदका लागि केही समय अघि पत्रचार गरिसकेको र नियमित सम्पर्कमा रहेको बताए।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले निजी क्षेत्रले पनि खोप ल्याउन नसकेको बताए। उनले सरकारले खोप ल्याउनका लागि निजी क्षेत्रलाई अनुमति दिएको र उनीहरुले ल्याएको खोप सरकारले लिई प्रयोग गर्न सक्ने बारे पनि छलफल भएको बताए।