

१० आश्विन २०८३, आईतवार
असोज-११,निरन्तरको वर्षाका कारण प्रमुख राजमार्ग र सडक खण्डहरू अवरुद्ध बनेका छन् । अविरल वर्षाले बाढी पहिरोका कारण देशका अधिकांश प्रमुख राजमार्ग छिन्नभिन्न भएका छन्।
पृथ्वी राजमार्गका कृष्णभीर, चौकीभीर, जवाड खोला, फिस्लिङ, बाँगे र चालिसे लगायतका स्थानमा पहिरोका कारण रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। केही स्थानमा भने राति सवारी साधनलाई पूर्ण रोक लगाउँदै दिनमा भने एकतर्फी रूपमा मात्र सञ्चालन गर्न दिइएको छ।
त्यसैगरि मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको हुँदा सो खण्डमा यातायातको साधन सञ्चालनमा रोक लगाएको छ।
त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक खण्डको विमलनगर नजिकै पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध बन्न पुगेको छ।
नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत दाउन्नेमा पहिरो खस्दा अवरुद्ध बनेको सडकमा पहिरो पन्छाएर सडक सुचारु भएको छ।
त्यस्तै, पूर्व-पश्चिम राजमार्गको भाइरल डाँडा/धानखोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । त्यहाँ पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ।
त्यसैगरि बी.पी. राजमार्गको माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडा क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ। सडक विभागले थप क्षति नभए भोलि साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।
राप्ती र कर्णाली राजमार्गका विभिन्न खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध छ भने कालीगण्डकी करिडोरमा स्थानीय सवारीका लागि मात्र एकतर्फी बाटो खुलाइएको छ।
यसैगरी, तमोर करिडोरमा खोलाको बहाव उच्च हुँदा सवारी सञ्चालन हुन सकेको छैन भने बेसीसहर-चामे सडकमा निरन्तरको वर्षा र पहिरोका कारण समस्या भइरहेको छ। यद्यपि, कान्ति राजमार्ग भने आज बिहानदेखि सञ्चालनमा आएको छ भने मध्यपहाडी राजमार्गका केही खण्डमा एकतर्फी यातायात सुचारु गरिएको छ।
सडक विभागले अवरुद्ध सडक खुलाउन मेसिन र जनशक्ति परिचालन गरिरहेको जनाएको छ।