× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तुइन खोला नजिकैको पहिरोका कारण हजाराैँ यात्रु अलपत्र, सरकारले चाडपर्वलाई मध्यनजर गरी सडक मर्मत सम्भार नगरेको गुनासो

    ३ घण्टा पहिले

    असोज-४, मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै शुक्रबार साँझ करिब ६:३० बजे झरेको पहिरोका कारण हजाराैँ यात्रु अलपत्र परेका छन् । काठमाडौँ भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजाराैँ यात्रुहरू मर्कामा परेका हुन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो साँझ ६ बजे यता यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यमा पुन सकेका छैनन् । साथै सडकको दुरावस्था र खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा गम्भीर समस्या देखिएको छ ।

    ‘मुग्लिनमा हजाराैँ यात्रु अलपत्र छन् । आबुखैरेनीमा पनि त्यस्तै छ । देशभरका सबै सडक अस्तव्यस्त नै छ । यता बीपी राजमार्गको चौकिडाँडा, नारायणगढ–बुटवल खण्डअन्तर्गत दाउन्नेमा पनि हिजोदेखि सडक अस्तव्यस्त बनेको छ । अब हेरौँ, काम गर्दैछन्, के–के हुन्छ सहजीकरण । मैले पहिल्यैदेखि यस्तो अवस्था आउँछ भनिरहेको थिए । सडक मर्मत नगरी टिकट बुकिङ खुला गर्दा रिस्क हुन्छ, नगरौँ भनेको हो ।’

    सरकारले चाडपर्वलाई मध्यनजर गरी सडक मर्मत सम्भार नै नगरेको दाबी उनले गरे । जसका कारण अहिले सवारी आवतजावतमा समस्या भएको उनको भनाइ छ ।

    साथै यही विषयलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बैठक बोलाएको समेत बताए । सिटौलाले दिएको जानकारीअनुसार हालको गम्भीर अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयमा आज बिहान ११ बजे एक महत्त्वपूर्ण बैठक बोलाइएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बस्ने यस बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घ र मजदुर लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा विशेष गरी चाडपर्वमा यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउने र अवरुद्ध सडकहरू खोल्ने विषयमा छलफल हुनेछ ।

    वरिष्ठ उपाध्यक्ष सिटौलाले हिजो मात्र सिमलताल नजिकै ठुलो दुर्घटना टरेको उल्लेख गर्दै सडकको जोखिमपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले मुग्लिन–नारायणगढ सडक खण्ड र मुग्लिन–काठमाडौँ सडक खण्डमा भएका खाल्डाखुल्डी लामो समयदेखि मर्मत नभएको र ग्रामीण क्षेत्रका सडकहरूको अवस्था त झनै नाजुक रहेको बताए ।

    उनले तत्कालभन्दा तत्काल अवरुद्ध सडक खोल्नका लागि ह्याभी इक्विपमेन्टहरू परिचालन गर्नुपर्ने, विशेष गरी बीपी राजमार्गको चौकी डाँडा जस्ता संवेदनशील क्षेत्रमा पनि तत्काल ध्यान दिनुपर्ने तर्क गरे । साथै यात्रुवाहक सवारी साधनलाई सुरक्षाको नाममा अनावश्यक चेकजाँच गरी दुःख दिनुभन्दा उनीहरूको सहज आवागमनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले अत्यावश्यक खाद्यान्न र यात्रु बोकेका सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

    यस्तै होसियारीपूर्वक यात्रा गर्न र जोखिमपूर्ण सडकमा यात्रा नगर्न पनि यात्रुहरूलाई आग्रह गरेका छन् । यसका साथै, राति गाडी चलाउन नसकिने अवस्था भए दिउँसो भए पनि गाडी चलाउने विषयमा विचार गर्नुपर्ने र यसका लागि सरकारले यातायात व्यवसायी तथा जानकार व्यक्तिहरूले दिएका सुझावहरूलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।