× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ–मुग्लिन सडकमा पुल निर्माण गर्न २६ वटा घरटहरालाई क्षतिपूर्ति दिएर हटाउन सरकारले दियो स्वीकृति

    १ वर्ष पहिले

    चैत्र -२, सरकारले नारायणगढ-मुग्लिन सडकमा पुल निर्माण गर्न सडकको रेखांकनभित्र परेका २६ वटा घरटहरा भोगचलन गर्ने व्यक्तिलाई क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले नारायणगढ–मुग्लिन सडकमा पुल निर्माणको क्रममा सडकको रेखाङ्कनभित्र परेका घरटहरालाई क्षतिपूर्ति दिएर हटाउन सरकारले स्वीकृति दिएको बताए ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले अर्थ मन्त्रालयबाट क्षतिपूर्ति निकासा नहुँदा मुग्लिन बजारनजिकको खहरे खोलाको पुलको जग पनि खन्न नपाइएको जनाएको छ । आयोजनाका सूचना अधिकारी आचार्यले भने, ‘खहरेको पुलको जग पनि खन्न सकिएको छैन, जग खन्दैमा ४ वटा घर भत्किने देखियो, विश्व बैंकबाट स्वीकृति लिएको हुनाले उनीहरुलाई क्षतिपूर्ति नदिई काम अगाडि बढाउन सकिएन ।’ उनले १५ पुलमध्ये खहरे खोलाको पुलको काम कत्ति पनि अघि नबढेको बताए ।

    ‘क्षतिपूर्ति चाँडै आए यस पुलको जग खन्ने काम अघि बढ्ने थियो’, उनले भने । नारायणगढ–मुग्लिन सडकमा निर्माणको क्रममा रहेका १५ वटा पुलमध्ये ९ वटा पुलको स्ल्याप ढलानको काम सकिएको छ । खहरे, दासढुङ्गा, खोरखोला, लामा बालुवा खोला, भोर्ले खोला, सेती दोभान खोला, डुम्रे खोला, सिमलताल खोला, नाम्सी खोला, तोपे खोलामा निर्माण गरिएको पुलको काम ९० प्रतिशत सकिएको (स्ल्याप ढलान पूरा) आयोजनाले जनाएको छ ।

    यस्तै, आयोजनाले ४ वटा पुल स्ल्याप ढलानमा पुगेको जनाएको छ । जुगेडी, रिग्दी, कालीखोला र चिस्यानी खोलाको पुल स्ल्याप ढलानमा पुगेका छन् । सबैभन्दा अप्ठ्यारो तुइन खोलाको पुल निर्माणको काम रोकिएको आयोजनाले जनाएको छ ।

    ‘तुइन खोलाको पुल निर्माणमा पहाड काट्नुपर्ने अवस्था आयो, देब्रेतर्फको पहाड काटेर सकियो, दाहिनेतर्फको काट्न बाँकी छ, विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको हुँदा स्वीकृतिका लागि फाइल रक्षा मन्त्रालयमा अड्केर बसेको छ’, सूचना अधिकारी कृष्ण आचार्यले भने, ‘पुल निर्माणको काम भइरहेका छन्, तर सरकारबाट स्वीकृति लिने प्रक्रियामा केही ढिला हुँदा अझ भनेजसरी काम अघि बढ्न सकेको छैन ।’ उनले क्षतिपूर्ति रकम चाँडै निकासा भएको खण्डमा पुल निर्माणको कामले गति लिने बताए ।

    विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । सडक विस्तारको कामपछि साँघुरा पुलका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको थियो । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धिखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् ।

    प्याकेज–१ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख छ । दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाख छ । योमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो ।