× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबुलकारको चारतारे रिसोर्ट निर्माण सुरु, कुरिनटारमा पनि होटल स्थापना गर्ने तयारी

    १ वर्ष पहिले

    फागुन-१०, मनकामना केबुलकारले आफ्ना ग्राहक लक्ष्य गरी चारतारे स्तरको रिसोर्ट निर्माण सुरु गरेको छ। आगामी डेढ वर्षभित्र सञ्चालनमा ल्याउने गरी गोरखास्थित मनकामना मन्दिरसँगै रिसोर्ट निर्माण सुरु भएको हो।

    केबुलकार सञ्चालक मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले केबुलकारको ‘टप स्टेसन’ सँगै रिसोर्ट निर्माण सुरु भएको जानकारी दिए।

    ‘कम्तीमा डेढ वर्षभित्र सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने गरी निर्माण सुरु गरेका छौं,’ निर्देशक श्रेष्ठले भने, ‘मनकामना मन्दिर पुग्ने तथा त्यसवरपर घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटक लक्ष्य गरेर रिसोर्ट निर्माण थालेका हौं।’

    उनका अनुसार साढे ९ रोपनी क्षेत्रफलमा फैलिने रिसोर्टको जग्गाबाहेक ३५ देखि ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। ‘रिसोर्ट बाइ मनकामना केबुलकार प्रालि’ मार्फत रिसोर्ट निर्माण थालिएको हो। रिसोर्टको नाम भने सार्वजनिक गरिएको छैन।

    ४० वटा कोठासहित तालिम र सभासम्मेलनका लागि आवश्यक हल, हेल्थ क्लब, स्पालगायत सुविधा रिसोर्टमा उपलब्ध हुनेछन्। चारतारे स्तरको रिसोर्टका लागि आवश्यक सबै मापदण्ड र पूर्वाधार निर्माण हुने श्रेष्ठले बताए।

    ‘केबुलकारकै जग्गा भएकाले खरिद गर्न परेन, त्यही भएर लागत केही सस्तो हुने भएको हो,’ निर्देशक श्रेष्ठले भने, ‘रिसोर्टको आवश्यक डिजाइन तयार पारेर सामान खरिद प्रक्रिया अघि बढिसकेको छ।’

    चितवनस्थित कुरिनटारमा पनि होटल स्थापना गर्ने तयारी कम्पनीको छ। तर, कति तारे, कति लगानी र के नाममा खोल्ने भन्ने विषय यकिन नभए पनि प्रारम्भीक छलफल अघि बढिसकेको उनले जानकारी दिए।

    मनकामना केबुलकार नेपालकै सबैभन्दा पुरानो र पहिलो केबुलकार हो। त्यहाँ लाखौं आन्तरिक एवं वाह्य पर्यटक पुग्ने गरेका छन्। विषेशगरी भारतीय पर्यटक मनकामना मन्दिर दर्शनका लागि जाने भएकाले पनि सुविधासम्पन्न होटल निर्माणमा आफूहरू लागेको निर्देशक श्रेष्ठको भनाइ छ।

    भारतीयमात्र नभई विभिन्न देशका पर्यटक त्यहाँ आएर तारेस्तरका होटल वा रिसोर्ट खोज्ने गरेका छन्। पछिल्लो समय त्यस क्षेत्रमा नयाँ होटल निर्माण हुने क्रमले तीव्रता पाएको छ। केबुलकारले कुरिनटारमा रेस्टुरेन्ट भने सुरुदेखि नै सञ्चालन गरिरहेको छ। रिसोर्ट भने पहिलोपटक निर्माण गर्न थालेको हो।

    रिसोर्टमा सामान्यतया एउटा कोठामा तीनजनासम्म सुत्ने मिल्ने गरी ठुल्ठूला कोठा बनाइने छ। कुरिनटारमा पनि सोही कम्पनीमार्फत दोस्रो चरणमा होटल निर्माण गर्ने तयारी भइरहेको छ।