× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली बजारमा घट्यो भारुको मुल्य

    १ वर्ष पहिले

    फागुन-७, केही महिना अघिसम्म भारतीय रूपैयाँ साट्न २ देखि ४ रूपैयाँसम्म यहाँका स्थानीय र व्यापारीहरूले तिर्नुपथ्र्यो। हिजोआज भने तिनै स्थानीय र व्यापारीले १ सय दरको भारतीय रूपैयाँ ५ देखि १० रूपैयाँ सस्तोमा कारोबार गरिरहेका छन्। एकाएक अनौपचारिक कारोबारमा भारतीय रूपैयाँको मूल्य सस्तिएपछि सुदूरपश्चिमको बजारमा हलचल मच्चिएको छ।

    आफूले बजारमा सामान किन्दा १० रूपैयाँ घाटा खाएर एक सय भारतीय रूपैयाँलाई एक सय ५० मा कारोबार गरेको धनगढीका मनोज जोशीले बताए। उनले भने, ‘किराना पसलमा खाद्यान्न किन्दा भारतीय रूपैयाँ ५ सय दिँदा त्यसको मूल्य ७ सय ५० रूपैयाँ मात्र उपलब्ध गराउन व्यापारीले माने। जबकी भारतीय ५ सय रूपैयाँको ८ सय रूपैयाँ हुन्छ।’ केही वर्ष अघिसम्म उपचार गर्न तथा अन्य कामले भारत जाँदा तिनै नेपाली व्यापारीहरूले भारतीय रूपैयाँ साट्न ४ रूपैयाँसम्म लिएको उनले बताए। उद्योग वाणिज्य संघ कैलालीका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले १५÷२० दिन यता सुदूरपश्चिमको बजारमा भारतीय रूपैयाँको कारोबार माइनसमा हुन थालेको बताए। उनले भने, ‘अहिले बजारमा एक सय भारतीय रूपैयाँको कारोबार गर्दा नेपाली रूपैयाँ १५० देखि १५५ मा मात्र साटिन थालिएको छ।’ नेपाली र भारतीय मुद्राबीच दशकौंदेखि विनिमय दर स्थिर रहँदै आएको छ। नेपालमा १ सय भारतीय रूपैयाँको १६० नेपाली रूपैयाँ तिर्नुपर्छ। नेपाल राष्ट्र बैंकमा १ सय रूपैयाँका नोट मात्र कारोबार हुने गरे पनि बजारमा १ सय रूपैयाँ भन्दा ठूला नोट पनि अनौपचारिक रूपमा कारोबार हुँदै आएका छन्।

    नेपाली रूपैयाँको मूल्य बढी भएर भारतीय रूपैयाँको मूल्य घटेको जस्तो देखिए पनि वास्तविकरूपमा त्यसो नभएको अर्थविद्हरूको भनाइ छ। ‘व्यापार घाटा पहिलेको भन्दा बढेकै छ, निर्यात र आयातको अवस्था पनि उस्तै छ,’ कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक तथा अर्थशास्त्री राजेन्द्रवीर चन्द भन्छन्, ‘माग र आपूर्तिको सिद्धान्त बमोजिम भारतीय मूल्य सस्तो भएको देखिँदैन।’ तस्करी, हुण्डीलगायतका अवैध कारोबारले नेपालमा अवैध मानिएका ठूला भारतीय रूपैयाँका नोटको संख्या बजारमा बढेकाले भारतीय रूपैयाँको कारोबार सस्तिएको अर्थशास्त्रीहरू बताउँछन्। नेपालको निर्यात नबढे पनि भारतीय रूपैयाँको कारोबार सस्तोमा हुनुको यकीन कारण भने खुल्न सकेको छैन। अर्थविद्हरूले अवैध कारोबारका कारण यो अवस्था सिर्जना भएका आँकल गर्न थालेका छन्।

    सुन तस्करी, सुपारी तस्करी, केराउ तस्करी, चरेश लगायतका अवैध सामग्रीहरूको कारोबारबाट प्राप्त भारतीय ठूला नोट नेपाली बजारमा भित्रिएकाले एकाएक भारतीय रूपैयाँको मूल्यमा गिरावट भएको अर्थविद्हरूको विश्लेषण छ। ‘अवैध कारोबार नै यसको मूख्य जड हो,’ अर्थशास्त्री चन्दले भने।

    सुदूरपश्चिमबाट सबैभन्दा बढी रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन्। यकीन तथ्याङ्क नभए पनि सुदूरपश्चिमका करिब ७ लाख नागरिकले भारतमा मजदुरी गर्ने गरेको अनुमान गरिएको छ। भारतमा मजदुरी गर्नेमध्ये अधिकांश सस्तो मूल्यमा श्रम बेच्ने गर्छन्। बजारमा भारतीय रूपैयाँको कारोबार सस्तिएपछि आफ्नै ठाउँमा जिविकोपार्जन गर्ने उपाय नभएपछि सस्तोमा मजदुरी गरिरहेका मजदुरहरू पनि भारतीय रूपैयाँ कम मूल्यमा कारोबार हुँदा प्रत्यक्ष मारमा परेका छन्। ‘नेपालमा भारतीय रूपैयाँ कम मूल्यमा साटिन थालेपछि हामीहरूले सापट लिएको पैसा फिर्ता गर्नुपर्दा बढी रूपैयाँ तिर्नु परेको छ,’ सुरेश साउदले भने, ‘भारतमा पसिना बगाएर जम्मा गरेको रूपैयाँ पनि घट्दा हामीलाई मर्का परेको छ।’ नागरिकबाट