× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली सेनाले आज २६० औँ स्थापना दिवस मनाउँदै

    १ वर्ष पहिले

    फागुन-६,नेपाली सेनाले आज २६०औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ ।

    समारोहमा राष्ट्रपति एवम् सेनाको परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ । यस्तै भारतीय सेनाका पूर्व प्रमुख लगायतको पनि उपस्थिति हुनेछ ।समारोहमा परेड अर्थात् शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्याण्ड प्रस्तुति हुनेछ । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको साङ्गठनिक स्वरूप वि.सं. १८१९ देखि सुरूवात भएको हो ।

    नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

    नेपाली सेनाले देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ सेनाले पुर्याएको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशंसा हुँदै आएको छ ।नेपाली सेनाले पछिल्ला दिनहरुमा विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार बनाउने काम समेत गर्दै आएको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्त्वका संरचना, विद्युतगृह, भौतिक पूर्वाधार एवम् प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइमा लगायतका काममा नेपाली सेनाको महत्त्वपूर्ण योगदान छ ।

    नेपाली सेनाको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको छ । उहाँले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

    देश र नागरिकको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम भूमिका खेल्दै आएको बताउँदै सेनाका परमाधिपतिसमेत रहनुभएकी भण्डारीले यस वर्ष भएका तीनै तहका चुनावलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि देश र नागरिकको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।