× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    १ वर्ष पहिले

    माघ-१६, देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सोमबार शहीद दिवस मनाइँदै छ ।

    नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

    वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

    निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।

    देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवशको रुपमा मनाइएको हो ।

    विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

    यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भनेे माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

    माघ १६ गते सोमबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

    यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भएको जनाइएको छ ।

    वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री दाहालले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जानकारी पनि उहाँले दिनुभयो ।