× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज देखि नारायणी नदीमा ‘क्रुज शिप’ सञ्चालनमा आउने

    ३ वर्ष पहिले

    माघ-१, नारायणी नदी किनारमा बनेको ‘क्रुज शिप’ आजदेखि सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज शिप व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

    कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना महामारीका कारण समयमा निर्माण सकेर सञ्चालन गर्न नसकिएको क्रुज शिप अब सञ्चालन गरिने बताए। उक्त क्रुजको दुई वर्षअगाडि नै सफल परीक्षण गरिएको थियो।

    भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुज शिपको स्टेसन छ। तीन तलाको क्रुजमा एक पटकमा १८० जना यात्रु चढ्न मिल्छ।

    कँडेलका अनुसार एक घन्टासम्म नारायणी नदीमा यात्रुलाई सयर गराउने योजना छ। यसका लागि प्रतिव्यक्ति ७ सय रूपैयाँ लाग्छ।

    ब्रेकफास्ट क्रुजिङका लागि एक हजार पाँच सय, लन्च क्रुजिङका लागि दुई हजार र डिनर क्रुजिङका लागि दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ। क्रुज शिपभित्र रेस्टुरेन्ट, साँस्कृतिक कार्यक्रम गर्न स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू छन्।

    यो क्रुज शिप निर्माणमा १५ करोड रूपैयाँभन्दा बढी खर्च भएको कँडेलले बताए। क्रुजमा भिआइपी कक्षका साथै फिल्म सुटिङ गर्न मिल्ने सुविधा पनि छ।

    यसमा यात्रा गर्ने हरेक यात्रुको १० लाख रूपैयाँ बराबरको बीमा हुने कँडेलले बताए। यसमै बसेर विवाह, ब्रतवन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका उत्सव मनाउन पनि पाइने उनले बताए।

    ‘क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ। तर यति बेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ,’ कँडेलले भने, ‘पानीको बहावअनुसार दुरी बढाउँदै लैजान सकिन्छ।’

    नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज शिप भारत, केरलाका प्राविधिकले तयार गरेका हुन्। यसका क्रु-सदस्य १५ जना रहने छन्।