× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना मन्दिर र केबलकार आजदेखि पुनः संचालनमा आयो

    ३ वर्ष पहिले

    गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर तथा केबुलकार आज देखि संचालनमा आएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबारदेखि मन्दिर खुल्ला गर्ने निर्णय गरेको थियो ।

    मनकामना क्षेत्रका बासिन्दाले यातायातको साधनको रूपमा प्रयोग गर्ने केवुलकार तथा मनकामनामा मन्दिर खोल्न पटकपटक माग गरेपछि शहीद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति र सरोकारवालाहरूको छलफलले मनकामना मन्दिरकाे साथै मनकामना केवुलकार खोल्न दिने निर्णय गरेको थियो ।

    मन्दिर खुल्ला भए पनि मनकामना मन्दिरमा आउने भक्तजनहरूलाई सिधै मन्दिरभित्र प्रवेश गर्न भने दिइएको छैन। मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीले ढोका बाहिर बाट नै दर्शन गर्ने एवम् पूजा सामग्रीहरू मन्दिरको सहयोगी मार्फत पुजारीसम्म पु-याएर पूजा गर्ने व्यवस्था मिलाइएको छ ।

    श्रद्वालुहरूका लागि मन्दिर परिसरमा साबुनपानीको व्यवस्था, मन्दिरका पुजारी तथा कर्मचारीले सुरक्षाका सबै मापदण्ड अपनाउने देखि सुरक्षाकर्मीहरूले श्रद्वालु भक्तजनालाई सामाजिक दूरी कायम हुने गरी लाइनमा राख्नेसम्मको व्यवस्था गरिएको छ ।

    स्वास्थ्य सुरक्षा मापदण्डको नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आएको छ । केबलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्नेछ र हात सेनिटाईजर गर्नुपर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नुपर्नेछ ।

    लामाे समय पश्चात खुलेकाे मनकामनामा छिट्टै नै चहलपहल बढ्नेमा व्यवसायीहरू उत्साहित छन ।