× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लगातार वर्षाकाे कारण मुग्लिङ–काठमाण्डाै लगाएत देशको विभिन्न राजमार्गहरू अवरुद्ध

    ३ वर्ष पहिले

    भदौ-१३, लगातारको वर्षाले देशको विभिन्न राजमार्गहरुमा पहिरो खस्दा सडक अबरुध्द हुन पुगेको छ।

    त्रिभुवन राजपथस्थित नौबिसे चिसापानीमा पहिरो गएपछि राजमार्ग ठप्प भएको छ । बिहान सवा ८ बजे पहिरो गएपछि सवारी साधनहरु राजमार्ग मै रोकिएका छन् । सवारी चापले उपकरण ल्याएर पहिरो हटाउन समस्या भइरहेको छ । खानीखोलास्थित प्रहरी निरीक्षक दुर्गा थापाले नागढुंगा र खानीखोलामा रहेका उपकरणहरु पहिरो हटाउनका लागि आउँदै गरेको जानकारी दिइन् ।

    यस्तै भारी वर्षापछि पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ जोरधारा, तानसेन नगरपालिका-७ बर्तुङ, बगनासकाली गाउँपालिका-३ धैरेनी, बगनासकाली गाउँपालिका-४ शेरा, तिनाउ गाउपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

    यस्तै मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ थानडाँडामा पहिरो खस्दा कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ। पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।

    यस्तै तानसेन-११ सम्मोबारीमा पहिरो जाँदा तानसेन-रिडी सडकखण्ड र रम्भा-३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ-रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    यस्तै खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरे फाँटमा लेदोसहितको पहिरो झरेपछि बीपी राजमार्ग आइतबार बिहानबाट अवरुद्ध भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन मेसिन पठाइए पनि वर्षाले काम गर्न मुस्किल परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । राजमार्गमा जताततै सानाठूला पहिरो खसेको र खहरेहरूमा समेत बाढी आएकाले जानकारी लिएर मात्र यात्रामा निस्कन लामाले सुझाएका छन् ।

    त्यसैगरी बाढी पहिरोको कारण सिन्धुपाल्चोकको हेलम्बुमा पनि सडक अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ। त्यस क्षेत्रमा अहिले निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे। गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ।