× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बाढी र पहिरोको जोखिम हुने भएकाले तीन दिन उच्च सतर्क रहन आग्रह

    ३ वर्ष पहिले

    जेठ-१३, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ।

    पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

    अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

    जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ। गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ।