

३ घण्टा पहिले
फागुन -७, गत सोमवार भक्तपुरस्थित आफ्नी निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै नेपाल बन्द लगायतका आन्दोलनको घोषणा गरिएको छ । दुर्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्दै नेपाल बन्द लगायतका आन्दोलन घोषणा गरेको छ । सचिवालयले सरकारले विना कुनै ठोस आधारमा हिरासतमा राखेको घटनामा आपत्ति जनाएको छ ।
सचिवालयले विज्ञप्ति जारी गर्दै नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोल्दै सरकारले देखाएको यो दमनकारी कदम पूर्णतः अलोकतान्त्रिक र अन्यायपूर्ण भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो अभियान र प्रसाईंज्यूले उठाउनुभएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ, यो अन्यायको विरुद्ध र उहाँको ससम्मान रिहाइका लागि हामीले पटकपटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले वेवास्ता गरेकाले हामी बाध्य भई कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न विवश भएका छौँ ।’
सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ ।
यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।