

७ चैत्र २०७९, बुधबार
चैत्र -८, प्रधानमन्त्री विरुद्ध नाराबाजीको आरोपमा मंगलबार बानेश्वर बाट पक्राउ तीनजना विरुद्ध हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले ५ दिन अनुमति दिएको छ। अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले अनुमति मागेको थियो।
पक्राउ परेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङका सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौं प्रहरीले जनाएको छ।
मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रममा ति युवाहरुले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बल प्रयोग गर्दै पक्राउ गरेको थियो । ती युवाले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । नागरिकलाई बोल्न नदिएको भन्दै बुधबारको राष्ट्रियसभा बैठकमा एमाले सांसद डा. विमला राईले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।