× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जार तथा बोतलको पानीको मूल्य बढ्ने

    २ दिन पहिले

    बैशाख-६, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र ढुवानी खर्च बढेसँगै जार तथा बोतलको पानीको मूल्य बढ्ने भएको छ।

    नेपाल पानी उद्योग महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको जनाएको छ। साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेखनीय रूपमा बढेको महासंघको भनाइ छ।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण आपूर्ति प्रणाली प्रभावित भएको छ। यसले कच्चापदार्थको उपलब्धता र मूल्य दुवैमा असर पारेको बताइएको छ।

    विज्ञप्तिमा पानी उद्योगको कुल लागत अस्वाभाविक रूपमा बढेकाले पुरानै मूल्यमा उत्पादन र वितरण जारी राख्न नसकिने निष्कर्ष निकालिएको उल्लेख छ। महासंघले सदस्य उद्योगहरूलाई उत्पादन लागतअनुसार मूल्य समायोजन गर्न आग्रह गरेको छ।

    महासंघका अनुसार नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसले ३० हजारभन्दा बढीलाई रोजगारी दिइरहेका छन्। साथै यस क्षेत्रमा १६ अर्बभन्दा बढी लगानी रहेको बताइएको छ।

    महासंघले उद्योग सञ्चालन, रोजगारी संरक्षण र उपभोक्तामा नियमित आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन आवश्यक रहेको जनाएको छ। साथै, सरकारले कच्चापदार्थ आपूर्ति सहज बनाउन, ढुवानी लागत नियन्त्रण गर्न र उद्योगमैत्री नीति ल्याउनुपर्ने माग पनि गरिएको छ।