× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    देशभर बदली र वर्षाको क्रम जारी, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

    २ महिना पहिले

    कार्तिक-१३,जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ।

    महाशाखाका अनुसार, बिहीबार बिहान देशभर सामान्यतया बदली छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ भने बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

    दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहने र तराई भूभागमा सामान्य बदली हुने अनुमान छ। यस अवधिमा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका पहाडी–हिमाली क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ।

    त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम र केही स्थानमा भारी हिमपातको सम्भावना छ।

    राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    मौसमविद्हरूले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रहरूमा हिमपात र वर्षाका कारण यातायात तथा दैनिक जीवनमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।