१४ घण्टा पहिले
बैशाख-२०, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनमा अवस्थित मर्स्याङ्गी शिक्षा सदन स्कुलको नयाँ विद्यार्थी स्वागत तथा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष किशोर गुरुङको अध्यक्षता, इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथी, विशिष्ट अतिथिमा वडाध्यक्ष तेजबहादुर शेरचन, विद्यालय संस्थापक अध्यक्ष जयलाल श्रेष्ठ तथा अतिथिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विष्णु कुँवर, गणेश श्रेष्ठ, शान्ता पाण्डे , इस्लामदिन मियाँ, पिटिए अध्यक्ष मिन बहादुर श्रेष्ठ, विभिन्न विद्यालयका प्र.अ.रहेका थिए।
प्रमुख अतिथि माया सिलवालले गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गर्नुका साथै विद्यालयले प्रकाशन गरेको क्यालेण्डर पनि विमोचन गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान पनि दिनुपर्ने बताउनुभयो। साथै समय सापेक्ष अनुसार विद्यालयले विद्यार्थीहरूलाई प्रविधि प्रयोग गराएर देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो।
वडाध्यक्ष तेजबहादुर शेरचनले विद्यार्थीहरूले अत्याधिक मात्रामा मोबाइल प्रयोग गर्नुमा अभिभावकहरू नै कारण रहेकोले अभिभावकहरूले आफ्नो नानीबाबुहरूको अगाडि मोबाइलको सट्टा किताब पढ्ने बानी बसाउनु पर्ने बताउनुभयो।
कार्यक्रममा वार्षिक परीक्षामा प्रथम, द्वितीय तृतीय हुने विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई अतिथिहरुबाट पुरस्कार वितरण गर्नुका साथै नयाँ विद्यार्थीहरूलाई स्वागतका साथै पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
विद्यालयका प्रअ दिपक श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीको तर्फबाट एलिसा गौचन, अभिभावकको तर्फबाट मिनबहादुर श्रेष्ठ, पूर्व विद्यार्थीको तर्फबाट आशिष त्रिपाठी, व्यवस्थापन समितिको तर्फबाट विष्णु कुँवरले मन्तव्य राख्नुभएको थियो।
कक्षागत रूपमा विद्यार्थीहरूले नाचगान प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका इसिए इन्चार्ज सनम पन्तले कार्यक्रम सञ्चालन गरेका थिए।