× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जनगणना २०७८ को विस्तृत प्रतिवेदन आज सार्वजनिक, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुग्यो

    ३ वर्ष पहिले

    चैत्र१०,राष्ट्रिय तथ्यांक कार्यालयले १२ औँ जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन निकालेको छ।अन्तिम प्रतिवेदनअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ।

    प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।यसअघि २०७८ माघ १२ मा दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

    विस्तृत र अन्तिम प्रतिवेदनमा भने २६ हजार ९०२ कम अर्थात दुई करोड ९१ लाख ६४ हजार ५७८ मात्रै देखिएको हो।कुल जनसंख्यामध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ ५३ हजार ५५१ अर्थात् (४८.९८ प्रतिशत) र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ देखिएको छ।यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो‌

    राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ। सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्ला रहेको छ। काठमाडौंमा मात्रै २० लाख ४१ हजार ५८७ जना जनसंख्या छ।

    सबैभन्दा कम मनाङ जिल्लामा पाँच हजार ६८५ जना रहेका छन्। भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।

    प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको।

    प्रतिवेदन अनुसार प्रतिवर्ष जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ। २०६८ सालमा यस्तो वृद्धिदर १.३५ प्रतिशत रहेकोमा अहिले कम देखिएको छ।

    सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। यहाँ ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लामा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ।

    प्रतिवेदनका अनुसार जनघनत्व(प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या)मा वृद्धि भएको छ। अहिले प्रतिवर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ।२०६८ सालमा १८० जना मात्रै बस्‍ने गरेका थिए।

    भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ।

    जिल्लागत रुपमा सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा रहेको छ। यहाँ प्रतिवर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको छ।सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन्।

    हाल परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ पुगेको छ। देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन्। जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन् । प्रति परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ।२०६८ सालमा ४.८८ जना रहेको थियो । यस हिसावले प्रति परिवार संख्या घटेको छ।

    नगरमा बस्नेको संख्या बढेको छ भने गाउँमा बस्ने घटेको छ। नेपालको जम्मा जनसंख्याको ६६.१७ प्रतिशत नगरपालिका र ३३.८३ प्रतिशत गाउँपालिकामा बसेका छन्।

    २०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो।

    १५ लाख ५५ हजार ९६१ परिवारका २१ लाख ९० हजार ५९२ जना नागरिक विदेशमा बसेको तथ्यांक कार्यालयले जनाएको छ।जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ जना (८२.२ प्रतिशत) र महिला तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन् ।

    २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

    कुल जनसंख्ययाको २.२ प्रतिशत अर्थात ६ लाख ४१ हजार ६२० जना कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् ।

    १८ वर्ष मुनीको संख्या कुल ९८ लाख ६९ हजार ५८३ जना देखिएको छ। यो संख्यामध्ये ७.९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत बस्ने गरेका छन्। बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र ३ प्रतिशत बालबालिका आमा-बुवा दुबैसँग बस्न पाउँदैनन् जो अन्य वा नातेदारसँग बस्ने गर्दछन् ।

    कुल जनसंख्याको ३१.५५ प्रतिशत अर्थात ६६ लाख ६६ हजार ९३७ परिवारमा महिलाको नेतृत्व रहेको छ। २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढी हो ।

    ५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा र ४४ प्रतिशतले ग्यास प्रयोग गर्छन् । देशका ६६,६०,८४१ परिवारमध्ये आधाभन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन्।

    त्यसपछि धेरै प्रयोग गर्नेमा ग्यास रहेको छ। ग्यासको प्रयोग ४४ प्रतिशतले गरेका छन्। बिजुली, गुईठा/गोरहा, बायो ग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ।

    राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए।