४ वर्ष पहिले
विराटनगर–१७ स्थित इस्लामपुरमा बनाउन लागेको नाला भारतीय सुरक्षाकर्मीले रोक लगाएको छ ।भारतीय बजार जोगवनीबाट बगेर आएको पानी निकासका लागि बनाउन लागिएको नाला भारतीयको अवरोधका कारण निर्माणको काम रोकिएको हो ।
जोगबनीको दशगजा भन्दा करिब २० मिटर पूर्वमा रहेको इस्लामपुर बस्तीमा भारतीय बजार जोगवनीबाट बगेर आएको पानी निकासका लागि नाला निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको छ ।
नाला निर्माणको कामलाई भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि वर्षायाममा भारततर्फबाट आएको पानीको निकास नहुँदा सो स्थानमा डुबानसमेत हुने गरेको स्थानीय समसुल होदा मियाको भनाइ छ । डुबानबाट जोगाउनका लागि नेपालभित्र इस्लामपुरमा पक्की नाला निर्माणको काम शुरु भएलगत्तै भारतीय एसएसबीले धाकधम्की दिँदै रोक लगाएको उहाँले बताउनुभयो ।
नाला निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङ र भारतीय सीमा सुरक्षा बलबीच छलफल नभएसम्म नालाको काम तत्काल रोकिएको वडाध्यक्ष समिम कमरले जानकारी दिनुभयो । वर्षेनी वर्षायाममा पानी जम्ने भएकाले इस्लामपुरमा नाला निर्माण र ग्राइभेलको काम शुरु गरिएको उहाँले बताउनुभयो । इस्लामपुरमा रहेका ३ सयभन्दा बढी घर–परिवारका मानिस डुबानबाट वर्षेनी पीडित हुँदै आएका छन् ।
नाला निर्माण रोकिएको विषयमा भारतीयसँग वार्ता गरेर समस्याको समाधान खोज्ने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रतिक्रिया दिनुभएको छ । उहाँले भारतीय सीमा सुरक्षा बलबीच छिट्टैै छलफल गर्ने बताउनुभयो । विराटनगर–१७ नम्बर वडामा पर्ने जोगबनी बजारसँग जोडिएको सीमावर्ती बस्तीमा निर्माण हुन लागेको नाला एक सय मिटर लम्बाई, ८० सेन्टी मिटर चौडाइ र ५० सेन्टी मिटर गहिराइ रहेको छ ।
नाला निर्माणका लागि विराटनगर महानगरपालिकासँग स्थानीय उपभोक्ताले २०७७ जेठमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ असार मसान्तसम्ममा उपभोक्ता समितिले काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, भारतीयको अवरोधका कारण काम समयमा सम्पन्न हुन सकेको छैन । नेपाल समाचारपत्रबाट