× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    टर्कीको अलकायदा समर्थित समूहले नेपालमार्फत् दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको नर्डिक मोनिटरको दाबी

    ३ वर्ष पहिले

    फागुन-१६, स्वीडेनको स्टकहोल्ममा रहेको नर्डिक रिसर्च एण्ड मोनिटर नेटवर्कले टर्कीको अलकायदा समर्थित एक समूहले नेपालमार्फत् दक्षिण एसियामा आफ्नो सञ्‍जाल विस्तार गरिरहेको आरोप लगाएको छ।

    विशेषगरी टर्कीमा केन्द्रित रहेका धार्मिक, वैचारिक र अतिवादी समूहहरूको अध्ययन गर्दै आएको नर्डिक मोनिटरले आफ्नो अनुसन्धानमा नेपालमा रहेको एक मुस्लिम संस्थामार्फत् टर्कीको अलकायदा समर्थित संस्थाले दक्षिण एसियामा सञ्‍जाल विस्तार गरिरहेको देखिएको दाबी गरेको छ।

    टर्कीमा अलकायदा समूहसँग सम्बन्ध भएको च्यारिटीले इस्लामी संघ नेपाल (आईएसएन) मार्फत् काम गरिरहेको दाबी नर्डिक मोनिटरले गरेको छ।

    “अलकायदासँग सम्बन्ध भएको टर्कीको एक च्यारिटी समूहले जिहादी नेटवर्कलाई बन्दोबस्तीको व्यवस्था विस्तार गर्न इस्लामिक संघ नेपालसँग मिलेर काम गरिरहेको नर्डिक मोनिटरको अनुसन्धानमा देखिएको छ। दक्षिण एसियामा यो उनीहरूको क्षेत्रीय साझेदार हो,” नर्डिक मनिटरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको समाचारमा उल्लेख छ।

    द फाउण्डेसन फर ह्युमन राइट्स एण्ड फ्रिडम्स एण्ड ह्युमेनिटरियन रिलिफ (आईएचएच) ले नेपालको आईएसएनसँग मिलेर थुप्रै आयोजना सञ्‍चालन गरेको नर्डिक मोनिटरले जनाएको छ। खासगरी यो संस्थाले भारतसँग सीमा जोडिएका जिल्लामा कार्यक्रम गरिरहेको उल्लेख गरिएको छ।

    नेपाल-भारत सीमा क्षेत्रमा रहेका अल्पसंख्यक मुस्लिम समुदायलाई सघाउने बहानामा आईएसएनले जिहादी नेटवर्कलाई सघाइरहेको आरोप नर्डिक मोनिटरले लगाएको छ।

    भारतले यसअघि नै आईएसएनको सम्बन्ध जिहादी लडाकुहरूसँग रहेको जनाउँदै आएको पनि नर्डिक मोनिटरले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मासमेत आईएचएच अवैधरूपमा हतियार ओसारपसार गर्ने समूहको रूपमा चित्रण गरिएको नर्डिक मनिटरले जनाएको छ। आईएचएचमाथि सिरियामा रहेका जिहादीलाई सहयोग गरेको आरोपसमेत छ।

    आईएचएचलाई टर्कीको गुप्तर संस्था एमआईटीको एक औजारको रूपमा हेरिन्छ। टर्की सरकारले आईएचएचलाई सहयोग गरिरहेकोसमेत नर्डिक मोनिटरले उल्लेख गरेको छ।

    आईएचएचले विशेष ‘फोकस’ नेपालको प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशलाई दिएको निष्कर्ष नर्डिक मोनिटरको छ। आईएचएचको सहयोगमा थुप्रै ठाउँमा मस्जिद, मदरसा र इस्लामिक केन्द्रहरू स्थापना गरिएको जनाइएको छ। आईएचएचले सबैभन्दा बढी सुनसरी जिल्लालाई प्राथमिकतामा राखेको नर्डिक मोनिटरको अनुसन्धानले देखाएको छ।

    “आईएसएनको सम्बन्ध टर्कीको अतिवादी मुस्लिम समूह आईएचएचसँग मात्र छैन। यो इस्लामिक वर्ल्डको गैरसरकारी संगठनहरूको संघमासमेत आबद्ध छ,” नर्डिक मोनिटरले भनेको छ।

    अनुसन्धान रिपोर्टमा आईएसएनको सम्बन्ध टर्कीको अर्धसैनिक समूह सदातसँग पनि रहेको जनाइएको छ। सदातको सञ्‍चालन अद्‍नान तानारवेदीले गरेका छन् जो टर्कीका राष्ट्रपति एर्दोनानका पूर्वप्रमुख सैनिक सल्लाहकार थिए। अद्‍नानले लडाकुहरूलाई सैनिक तालिम दिने गरेकोसमेत जनाइएको छ।

    टर्कीस प्रहरीको गुप्तचर शाखाका पूर्वप्रमुख अलि फाउट यिल्माजारले सन् २०१६ अगस्ट १६ का दिन स्थानीय अदालतमा आईएचएचको अभियान विश्वभरका जिहादीलाई सहयोग र लगानी गर्नु रहेको बयान दिएका थिए।

    टर्किस फाइनान्सियल क्राइम्स इन्भेस्टिगेसन बोर्ड (एमएएकएके)को अनुसन्धान प्रतिवेदन अनुसार सन् २०१६ डिसेम्बरमा टर्कीको राजधानीमा अलकायदासँग आबद्ध रहेका प्रहरीले रूसी राजदूतलाई गोली हानेका थिए। उनले आईएचएचलाई रकम पठाएका थिए।

    झुठा आरोप लगाइयो : अध्यक्ष खुर्सिद आलम

    इस्लामी संघ नेपाल (आईएसएन)का अध्यक्ष खुर्सिद आलमले नर्डिक रिसर्च एण्ड मोनिटर नेटवर्कलेले लगाएको आरोप झुठा भएको बताएका छन्। उनले आफ्नो संस्थाको सम्बन्ध कुनै अलकायदासँग सम्बन्धित समूहसँग नभएको जनाए।

    “हामीमाथि जुन आरोप लगाइयो, यो एकदमै नराम्रो हो। यो आरोप झुठो हो। अलकायदासँग सम्बन्धित कुनै पनि समूहसँग हाम्रो सम्बन्ध छैन,” अध्यक्ष आलमले देखापढीसँग भने, “हामीले अलकायदाको सञ्‍जाल विस्तार गर्न सघाएका छैनौं।”

    आईएसएन एउटा सामाजिक संस्था भएको उनले बताए। अल्पसंख्यक मुस्लिम, शिक्षा र धार्मिक सहिष्णुता फैलाउने पक्षमा संस्थाले काम गर्दै आएको उनले जानकारी दिए।

    “वर्षौं भयो हामीले काम गरेको। हामीले राम्रो गरेकै कारण सरकारबाट प्रशंसा पाएका छौं। हामीले देशको अहित हुनेगरी कुनै काम गरेका छैनौं र गर्दैनौं,” अध्यक्ष आलमले भने। उनले आफ्नो संस्थाको सम्बन्ध अलकायदासँग सम्बन्धित समूहसँग भएको भए पुष्टि गरेर देखाउन नर्डिक मोनिटरलाई चुनौती दिएका छन्।देखापढिबाट