

४ घण्टा पहिले
चैत्र-७, अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ।
उक्त क्षेत्रमा गत वर्ष बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो।
आज बिहान साढे ३ बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले जानकारी दिए।
उनका अनुसार यसअघि खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्रै सडकलाई सञ्चालनमा ल्याउन सकिने देखिएको छ।
यद्यपि, सडक विभागमार्फत सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्रयास भने सुरु गरिएको उनको भनाइ छ ।
यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि सवारी साधन ‘होल्ड’ गरेको छ।
उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजूले बताए।