

३ घण्टा पहिले
फागुन-२८, नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको माग उच्च भएपछि भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको छ । निगमले नियमित रूपमा मागअनुसार नै ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा माग अस्वाभाविक रूपमा बढेको छ ।
मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको छ । नेपाललाई ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास प्राप्तिमा समस्या देखिन थालेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ ।

हालको परिस्थितिलाई दृष्टिगत गरी आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले नयाँ व्यवस्था लागू गरेको हो । आम उपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले २०८२ फागुन २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्मका लागि प्रतिसिलिन्डर ७.१ केजी मात्र ग्यास भरी बिक्री गरिनेछ ।
यसरी आधा भरिएको सिलिन्डरको मूल्य आधा नै अर्थात् ९५५ रुपैयाँ कायम गरिएको छ । आम उपभोक्ता वर्गलाई सोहीअनुसार ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।
