× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सम्पादकीय

    हामी सबै मिलेर यस देशलाई फेरि विविधतामा एकताको गौरवपूर्ण नमुना बनाऔं

    ३ दिन पहिले

    नेपाल एक विविधतायुक्त देश हो। ।धरातलीय स्वरूपको विविधतासँगै बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त यस देशमा संस्कार र संस्कृतिको पनि अद्भुत विविधता छ। सदियौंदेखि यहाँ बसोबास गर्ने जातजाति र धर्मालम्बी बीच आपसी समझदारी, सहिष्णुता र भातृत्वको भावनाले देशलाई एक सूत्रमा बाँधेको छ। यही भावना नै नेपालको राष्ट्रिय पहिचान र गौरव हो। विश्वका धेरै मुलुकहरू जातीय, धार्मिक र सांस्कृतिक द्वन्द बाट ग्रस्त हुँदा नेपाल भने विविधतामा एकताको जीवन्त उदाहरण बनेको छ। यो उपलब्धि सहजै प्राप्त भएको होइन। हाम्रा पुर्खाहरूले सहिष्णुतालाई जीवनशैली बनाएर यो देशलाई अहिलेसम्म शान्तिपूर्ण रूपमा अगाडि बढाएका हुन्।

    तर पछिल्ला केही घटनाक्रमले यस गौरवपूर्ण परम्परालाई गम्भीर चुनौती दिएका छन्। लामो समयदेखि आपसमा मिलेर बसेका समुदायहरूबीच द्वेष, अविश्वास र असहिष्णुताको भावना बढ्दै गएको देखिन्छ। सानोतिनो घटनालाई पनि जातीय वा धार्मिक रंग दिन खोज्ने प्रवृत्ति, सामाजिक सञ्जालमा फैलाइने घृणास्पद सामग्री र राजनीतिक स्वार्थले प्रेरित विभाजनकारी अभिव्यक्तिहरूले समाजको एकतामा ठेस पुर्‍याइरहेका छन्। यस्ता प्रवृत्तिहरू राष्ट्रियतामाथि नै खतराका रूपमा देखा परेका छन्। जब एक समुदाय अर्को समुदायप्रति शङ्का र आक्रोशको भावना बोक्न थाल्छ, तब देशको आधारभूत संरचना नै कमजोर हुन्छ। इतिहासले बारम्बार देखाएको छ—आन्तरिक विभाजनले कुनै पनि राष्ट्रलाई बाह्य चुनौतीभन्दा बढी कमजोर बनाउँछ।

    नेपालको संविधानले धर्मनिरपेक्षता, समानता र समावेशिताको सिद्धान्तलाई सुनिश्चित गरेको छ। तर कानुनी प्रावधान मात्र पर्याप्त हुँदैन। सहिष्णुताको भावना समाजको हरेक तहमा जीवित रहनुपर्छ। हाल चर्किएको द्वन्दलाई शान्तिपूर्ण तवरबाट निकासा दिलाउनु राज्यको अभिभावकीय दायित्वको बोकेको सरकारको हुन्छ।त्यसको साथै राजनीतिक दलहरू, नागरिक समाज, धार्मिक गुरुहरू, मिडिया र आम नागरिक सबैले विभाजनकारी स्वरलाई निरुत्साहित गर्नु जिम्मेवारी तथा आफ्नो कर्तव्य पनि हो। विशेषत भ्रम घृणा र नकारात्मक प्रचारका साथै द्वन्दलाई चर्काउने साधनका रुप लिएका सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले विशेष कदम चाल्नुपर्नेछ। । र सबैभन्दा महत्वपूर्ण कुरा, हामीले आफ्ना छिमेकी, सहपाठी, सहकर्मी र साथीभाइसँग फरक मत राख्दा पनि सम्मानको भाव कायम राख्न सिक्नुपर्छ।

    नेपालको शक्ति नै विविधतामा एकता हो। यस शक्ति लाई कमजोरीमा परिणत हुन दिनु हुँदैन। आजको आवश्यकता भनेको फेरि एकपटक सहिष्णुताको जग बलियो बनाउनु, भातृत्वको भावना पुनः जागृत गर्नु र “हामी सबै नेपाली हौं” भन्ने भावनालाई व्यवहारमा उतार्नु हो। इतिहासले हामीलाई सिकाएको छ—एकतामा बल छ। त्यसैले, आउनुहोस्, हामी सबै मिलेर यस देशलाई फेरि विविधतामा एकताको गौरवपूर्ण नमुना बनाऔं।