

२ घण्टा पहिले
माघ-२८, विश्वकपमा नेपालको खेल मुम्बईको वानखेडे स्टेडियममा भएका कारण नेपाली खेलप्रेमी दर्शकले मुम्बई जाने र आउने दुवै टिकट पाउनै छाडेका हुन्। अहिले सिधै मुम्बई र दिल्ली हुँदै मुम्बई जाने नेपाली यात्रुले जहाजमा भरिभराउ छन्।
माघ २५ गते नेपाल र इङ्ग्ल्याण्डबीच वानखेडे स्टेडियममा खेल भएको थियो। त्यसदिन स्टेडियम भरिभराउ थियो जसमध्ये झण्डै ९० प्रतिशत दर्शक नेपाली थिए। नेपाल-भारत उडान गरिरहेका वायुसेवा कम्पनीका अनुसार त्यो खेल हुनु अघिल्लो दिन भारततर्फका सबै उडानमा फुल अकुपेन्सी थियो।
क्रिकेटप्रति नेपालीको क्रेज देखेकै कारण ट्राभल एण्ड टुर्स कम्पनीले टी-२० विश्वकपका लागि प्याकेज ल्याएका थिए। कर्पोरेट कम्पनीले आफ्ना डिलरदेखि ग्राहकका लागि निःशुल्क प्याकेज ल्याएका छन्। ट्राभल एन्ड टुर्स कम्पनीहरुको प्याकेज सोल्ड आउट भइसकेको छ।
रुप्से होलिडेजका संचालक रमेश पराजुलीले मुम्बईमा खेल हेर्न जाने प्याकेज सोल्ड आउट भइसकेको बताए। ‘विश्वकपको खेल हेर्न हाम्रो कम्पनीमार्फत १७ सय जनाले प्याकेज खरिद गरेका छन्। अहिले पनि इन्क्वाइरी छ। तर हामी लैजान सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘अहिले हवाई टिकट र होटल दुवै महँगो छ। होटल पनि पाउन मुस्किल छ।’
उनका अनुसार दर्शकलाई काठमाडौंबाट मात्र नभई लखनउ र बागडोरा विमानस्थल हुँदै मुम्बई लाने काम भइरहेको छ।
‘पहिला हवाई टिकटको मूल्य ३५ हजारको रेन्जमा थियो। अहिले ६० देखि ६५ हजारको रेन्जमा पुगिसकेको छ। जसले हाम्रो प्याकेजको मूल्य पनि बढेको छ,’ उनले भने।
रुप्सेले ५, ६, ७, १२ र १४ तारिखका लागि ४ रात ५ दिनको प्याकेज ल्याइ २ महिनाअघि ६६ देखि ७५ हजार सम्ममा बिक्री गरेको थियो। पराजुलीका अनुसार अहिले प्याकेजको मूल्य ९५ हजारसम्म पुगेको छ।
कम्पनीको प्याकेजमा दुईतर्फी टिकट, थ्री स्टार होटलको बास, मुम्बई सिटी टुर र खेलको टिकट समावेश छ।सिलिङ ट्राभलका निर्देशक विशिष्ठ कोइरालाले पनि टी-२० विश्वकपका लागि मुम्बई जान एयरलाइन्सको टिकट पाउन मुस्किल रहेको बताए।
‘हामीले ल्याएको प्याकेज सोल्डआउट भइसकेको छ,’ उनले भने, ‘वेष्ट इन्डिजसँगको खेल हेर्नका लागि प्याकेज किन्ने १८० जना छन्। अहिले एयरलाइन्सको टिकट पाउन मुस्किल छ। एयर इन्डियाको महँगो टिकट फाट्फुट्ट पाइन्छ।’
यो कम्पनीले बागडोरामार्फत पनि डेढ सय जनालाई मुम्बई पठाएको छ। कम्पनीले ६० हजारदेखि १ लाख २० हजारसम्मको प्याकेज ल्याएको थियो।
नेपाल वायुसेवा निगमको मुम्बई उडानको टिकट सोल्ड आउट भएको छ। निगमकी प्रवक्ता अर्चना खड्काले मुम्बई जानका लागि टिकट उपलब्ध नरहेको बताइन्।
‘मुम्बईमा टी-२० विश्वकप खेल रहेकोले नेपालबाट मुम्बई जाने र आउने दुवै टिकट पाउन मुस्किल छ। हाम्रोमा फेब्रुअरी २० तारिखसम्म आउने जाने दुवै फ्लाइट प्याक छ,’ प्रवक्ता खड्काले भनिन्, ‘फ्लाइट भएका दिनको सबै टिकट सोल्ड आउट भइसकेको छ।
‘निगमले सातामा दुई दिन न्यारोबडी विमानमार्फत उडान गर्दै आएको छ।