१ वर्ष पहिले
श्रावण-२३, सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड अवरुद्ध भएका छन् ।
पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौडा–कुलेखानी–काठमाडाैं सडक अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पहिरोका कारण मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लामराङ स्थित कान्ती लोकपथ सडक खण्डमा पहिरो खसी दुबैतर्फी बाटो अबरोध भएको छ । सोमबार राति खसेको पहिरोका कारण उक्त सडकखण्ड भएर चल्ने सवारी आवागमनमा समस्या भएको छ ।
यस्तै हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भिफेदी गाउँपालिका वडा नम्बर २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैसे–भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अवरुद्ध भएको छ । यसमार्ग अन्तर्गत भिमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सवारीसाधनहरु पहिरोका कारण अवरुद्ध भएका छन् ।
दुबै मार्ग खुलाउँन सडक विभागसँग समन्वय भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए । लगातारको वर्षाका कारण तत्काल बाटो खुलाउँ सक्ने अवस्था नरहेको उनको भनाई छ । पानी पर्न कम हुनासाथ दुबै मार्ग खुलाउँने कार्य हुने प्रवक्ता कार्कीले बताए ।