× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल संवत्, नेपालीको संवत्-दिपेन्द्र श्रेष्ठ

    ४ वर्ष पहिले

    कार्तिक-१९, मानव सभ्यतासँगै ‘समय’ गणनाका दुई मुख्य प्राकृतिक विधिको विकास भएको पाइन्छ – चन्द्रमाको गतिअनुसार गरिने ‘समय’ गणना ‘चन्द्रमानक पात्रो’ र सूर्यको गतिअनुसार गरिने ‘समय’ गणना ‘सूर्यमानक पात्रो’ ।

    कुनै एउटा पात्रोको आधारमा विशेष समय–काल खण्डलाई प्रतिनिधित्व गर्ने र त्यसको मापन गर्ने विधिलाई संवत् भन्ने गरिएको छ । विश्वमा यस्ता संवत् अनगिन्ती छन् । प्रचलित अनेकौं संवत्हरूमध्ये अधिकांश संवत्हरू कुनै निश्चित धर्म, धार्मिक नेता वा शासकहरूको नाममा प्रचलनमा ल्याइएका छन् । अपवादमा रहेको ‘चन्द्रमानक पात्रो’मा आधारित ‘नेपाल संवत्’ विश्वको एकमात्र संवत् हो, जुन राष्ट्रको नाममा प्रचलनमा ल्याइएको छ ।

    नेपालमा प्रचलित संवत्

    नेपाल संवत् लिच्छवि राजा मानदेव द्वितीयको नाममा प्रचलित ‘मानदेव संवत्’लाई विस्थापित गरी लिच्छविकालकै अर्का राजा राघदेवले प्रचलनमा ल्याएको संवत् हो । ‘तत्कालीन व्यापारी शंकधर शाख्वाले आफ्नो निजी सम्पत्तिबाट प्रजाहरूको ऋण तिरिदिएको र उनीहरूलाई ऋणमुक्त गरेपछि नेपाल संवत्को सुरुवात गरेको’ अधिकांश इतिहासविदहरूले दाबी गरे पनि यसमा उनीहरूको राय एकमत छैन । यद्यपि हामी सजिलै अनुमान गर्न सक्छौं कि ‘शंखधर शाख्वा:’ले केही राष्ट्रिय गौरव तथा स्वाभिमानको काम गरेकै हुनुपर्छ । प्रजाहरूको ऋण तिरिदिएकै कारण सामन्ती युगका राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित मानदेव संवत्लाई खुसुक्क प्रतिहरण गरी लुसुक्क नेपाल संवत् प्रचलनमा ल्याएको भन्ने कुरा विश्वास गर्न कठिन भने अवश्य छ ।

    राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर शाख्वाले प्रजाहरूको ऋण तिरिदिएको घटनाले त्यति महत्त्व राख्दैन, जति त्यसमा अन्तरनिहित देशप्रेम, राष्ट्रियताको भावना र जनताको संगठन बलले सामन्ती राज्यसत्तालाई मनाउन/झुकाउन सफल भएको कुराले महत्त्व राख्छ । यस अर्थमा शंखधर शाख्वालाई नेपाल संवत्का प्रवर्तकमात्र होइन, नेपालका सुरुवाती देशभक्त एवं राष्ट्रवादी जननेता मान्नुपर्छ । यसैलाई मनन गरी नेपाल सरकारले नेपाल संवत्का प्रवर्तक शंकधर शाख्वालाई ‘राष्ट्रिय विभूति’ र नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’ घोषणा गरेको छ । नेपाल संवत् नयाँ वर्ष सुरु हुने कात्तिक शुक्ल प्रतिपदाको दिन सरकारले सार्वजनिक विदासमेत घोषणा गरिसकेको छ ।

    नेपाल संवतको प्रयोग र नेवार समुदाय

    नेपालका केही अल्पसंख्यक धार्मिक वा जातीय समुहहरूबाहेक बहुसंख्यक जनताको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपर्यन्त समेतको कार्यमा नेपाल संवत् अक्षुण्ण र अभिन्न रूपले गाँसिएको छ । जन्मपछिको पहिलो कर्मकाण्डी उत्सव ‘पास्नी’को साइत जुराउनेदेखि नै नेपाल संवत्को प्रयोग सुरु हुन्छ । हामीले मनाउने जन्मोत्सवहरू, जीवित पुर्खाहरूको जङक्व, मृत पुर्खाको नाममा गरिने श्राद्ध, तर्पण, पिण्डपानी अर्पण आदि सबै नेपाल संवत्कै तिथि अनुसारका साइतमा गरिन्छन् ।हाम्रो धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवित रहेसम्म नेपाल संवत्को अस्तित्व पनि स्वत: जीवित रहनेछ ।

    नेपाल संवत् नयाँ वर्ष नेवारहरूले ‘ईश्वरको बास मानव शरीरमा हुने भएकाले वास्तविक मन्दिर मानव शरीर’ हुने विश्वासका साथ मानव शरीरलाई पूजा गर्दै मनाउने एक महान पर्व ‘म्ह:पुजा’को दिन पर्छ, नेवार समुदायमा यसलाई पुरानो जात्रा (नख:) का रूपमा समेत लिइन्छ । ‘न्हुदा’ –नयाँ वर्ष) शब्द ‘च्वसा पासा’ (नेपाल भाषा साहित्यिक संस्था) का प्रेमबहादुर सिंहले २००८ सालमा पहिलोपटक प्रयोग गर्नुभएको मानिन्छ । राणा निरंकुशता विरुद्धको नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि नेपाली नेताहरू हिन्दुस्तानबाट नेपाल फर्कने क्रममा उनी पनि नेपाल फर्के र लगत्तै उनले २००८ सालको नेपाल संवत् नयाँ वर्षको दिन पाटनको न्ह्याखामा इतिहासमा पहिलोपटक ‘न्हुदा’ कार्यक्रम आयोजना गरे ।

    पञ्चायती निरंकुश शासन लागु भएपछि राजा महेन्द्र शाहले देशमा ‘एक भाषा’ नीति लागु गरे । यसपछि देशका अन्य भाषाहरू राजकीय प्रयोगमात्र हैन, सामाजिक प्रयोगबाटै कमजोर हुनथाले । यस्तो अवस्थामा नेपाल भाषाप्रेमी/प्रयोगकर्ता तत्कालीन निरंकुश शासकविरुद्ध आन्दोलित नेवार समुदाय नेपाल भाषा मंका खल:को नेतृत्वमा नेपाल भाषा प्रबद्र्धनको आन्दोलनमा होमिए । एक भाषा नीतिलाई प्रबद्र्धन गरिरहेको राज्य यो भाषा आन्दोलनको विरुद्धमा निरंकुश शैलीमा खनिएपछि आफ्नो आन्दोलनलाई सामाजिक जलप लगाउन यो संस्थाले नेपाल संवत् नयाँ वर्षको दिनमा ‘न्हुदा’ कार्यक्रम भव्य रूपमा मनाउन थाल्यो र यसलाई निरन्तरता दियो ।

    देशको नाममा प्रचलित यो संवत्लाई नेवारहरूले केही दशकदेखि बढी उत्साहजनक रूपमा मनाउन थालेको मात्रै हो, वास्तवमा यसलाई सदियौंदेखि जोगाउने काम निश्चय रूपमै ब्राह्मण समुदायले गरेका हुन् । भित्ते क्यालेन्डर सुरु हुनुपूर्व नेपाल सरकार अन्तर्गतको ब्राह्मणहरूको समिति– पञ्चाङ्गण समितिले तिथि, मिति, चाड, पर्व तोक्थ्यो, यी सबै नेपाल संवत्मा आधारित हुन्थ्यो । सयौं वर्षसम्म यही समितिले यो संवत्लाई जीवन्त बनाए ।

    राणाकालमा जब नेपाल संवत्लाई पुरै बन्देज गरियो, यही पञ्चाङ्गण समितिले नै नेपाल संवत्को प्राण थामेको हो । यसलाई लिखित रूपमा विकास र प्रयोग गरेको पनि त्यही ब्राह्मणहरूले नै हो । तसर्थ नेपाल संवत् अनेक अप्ठ्यारा मोडबाट गुज्रिँदासमेत आजसम्म जीवित हुुनुमा ब्राह्मणहरूको ठूलो भूमिका छ । आज पनि उही ब्राह्मण समुदायका विज्ञहरू सम्मिलित पञ्चाङ्गण समितिले नेपाल संवत्कै आधारमा वर्षभरिको चाड, पर्व, उत्सव आदि निर्धारण गर्ने काम गर्छ । नेवार समुदायले केही दशक अघिदेखि यसको संरक्षण, सम्बद्र्धन र व्यावहारिक प्रयोगको माग गर्दै आन्दोलनमा भने छन् ।

    अबको संवत् नीति

    हाम्रोजस्तो बहुसंवत्युक्त समाजमा संवत्को प्रयोगका सन्दर्भमा राष्ट्रिय सहमति गरी हाम्रो सिमानाभित्र स्थापना भएका सबै संवत्लाई राष्ट्रिय संवत्का मान्यता दिएर एक ‘संवत् नीति’ बनाउन आवश्यक छ, संवत्लाई सांस्कृति, सामाजिक, केही हदसम्म व्यावहारिक रूपमा कसरी सम्मानजनक प्रयोग गर्ने, संरक्षण र सम्बद्र्धन गर्ने भनी नीति बनाउनुपर्छ । विदेशी विक्रम संवत् व्यावहारिक प्रयोग गर्नुभन्दा विदेशी इस्वी संवत् धेरै फाइदाजनक हुन्छ । इस्वी संवत् प्रयोगका हिसाबले पनि सजिलो, कुन महिनामा कति दिन हुन्छ भन्ने कुरा पहिल्यै थाहा हुने, विश्वभरि एकरूपता समेत हुने आदि यसका बलियो पक्ष हुन् । त्यसो त विस्तारै विश्व भूमण्डलीकरणमा प्रवेश गर्दा भोलि हामीले यो संवत्लाई व्यावहारिक प्रयोग नगरी सुखै छैन ।

    विश्व भूमण्डलीकरण मार्फत एक गाउँको रूपमा विकास भइरहेको सन्दर्भमा व्यावहारिक प्रयोगमा केही कठिन नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गरिनुपर्छ भन्ने माग समयसापेक्ष नहुन सक्छ । विक्रम संवत् विदेशी माटोमा पलाएको संवत् हो, तसर्थ यसलाई प्रयोग गर्नुभन्दा विश्वव्यापी हुँदै गएको सरल इस्वी संवत्लाई औपचारिक प्रयोग गरी सांस्कृतिक तथा ऐतिहासिक दस्तावेजीय प्रयोगका लागि विक्रम संवत्लाई नेपाल संवत्ले विस्थापन गराइनुपर्छ । त्यसो त केवल महिना र गतेका लागि विक्रम संवत्को सहारा लिनबाहेक नेपालका सम्पूर्ण ठूला चाडपर्व, सांस्कृतिक पर्वको लागि नेपाल संवत्को प्रयोग विद्यमान नै छ । स्मरण रहोस्, भारतमा स्थापना भएको यो विक्रम संवत्लाई भारतमा समेत अव्यावहारिक भनेर प्रयोग गरिँदैन ।

    हाम्रोजस्तो बहुसंवत्युक्त देशमा अब ‘संवत् नीति’ आउन आवश्यक छ । दिनानुदिन प्रयोगमा सरल इस्वी संवत्को प्रयोग गरेर प्रत्येक ऐतिहासिक दस्तावेजहरूमा नेपाल संवत्को मिति उल्लेख गरिनु जरुरी छ । वास्तवमा नेपाल संवत्प्रतिको समर्थन स्वाभिमान र राष्ट्रभक्तिप्रतिको समर्पण पनि हो । संक्रमणकालीन यो अवस्थामा छलफल र बहसका हजारौं मुद्दाहरूमाझ यो पनि एक मसिनो तर महत्त्वपूर्ण मुद्दाका रूपमा उठाइनुपर्छ । पहिलोपटक नेपाली जनताले नेपाली जनताको लागि जारी गरेको नेपालको संविधानको नाममा नेपाली जनभलाइको स्मरणमा स्थापित नेपाल संवत् उल्लेख गरिनु राम्रो होला कि ।