× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार गाडी जलाउने प्रयास

    ४ वर्ष पहिले

    मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ।

    नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले बताइन।

    गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको बताइन।

    उनले भनिन्, ‘बाटो छेकेर मलाई गाडीबाट उत्रिन आग्रह गरे। मैले मानिनँ। धेरै अनुरोध गरेँ जनताको सम्पत्ति नजलाउन। समूहबाट एकजनाले मान्छेसहित जलाउने भनेपछि पेट्रोल छर्किन थाले। कसो–कसो गरेर भागेर आइपुगेँ।’

    “पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उनले भनिन्।

    घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उनले बताइन्।

    प्रहरी स्रोतका अनुसार तनहुमा कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ परेको विरोधमा झापामा नेपाल विद्यार्थी संघले आन्दोलन गर्ने कार्यक्रम तय भएको थियो । घटनामा नेविसंघका कार्यकर्ता सहभागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

    नेपाली काँग्रेसका उपसभापति राम कट्टेलले घटना भत्सर्ना योग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिए।