× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राजमार्गभित्रको संरचना हटाउन सडक डिभिजन कार्यालय भरतपुरको अल्टिमेटम

    ४ वर्ष पहिले

    सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका राष्ट्रिय राजमार्ग भित्र पर्ने संरचना हटाउन अल्टिमेटम दिएको छ । विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय राजमार्गको सडक सीमाकाे २५ मिटर दायाँ बायाँ र भवन सीमासहित ३१ मिटर दायाँ बाँयाका क्षेत्रहरु खाली गर्न अनुराेध गरेको छ ।

    डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र भित्र सवारी र पैदल यात्रुलाई समेत अवरोध पुग्ने तथा सेटब्याकलाई अवरोध पुग्ने गरी लिंक सडक निर्माण गर्ने, भवन संरचना निर्माण गर्ने, नाली पुरेर बाटो बनाउने, होटल ब्यवसाय गर्दा सडक सीमा प्रयोग गरी अव्यवस्थित रुपमा सवारी रोक्ने, घर किनाराबाट पानी सडकतर्फ बगाउने जस्ता कार्यले सडकमा धेरै क्षति हुने गरेको र यसले मर्मत कार्य समेत अनावश्यक रुपमा बढेको भन्दै त्यसो नगर्न समेत सचेत गराएको छ ।

    कार्यालयले सडक ऐन २०३१ बमोजिम सडक सीमा अतिक्रमण रोक्न र सुरक्षित यातायात सञ्चालन तथा सडक सीमा सुरक्षाका लागि भन्दै सूचना प्रकाशित गरिएको जनाएको छ । सूचनाको अटेरी गरेमा जुनसुकै बेला पनि त्यस्ता संरचना हटाइने समेत कार्यालयले चेतावनी दिएको छ ।

    राष्ट्रिय राजमार्ग स्तरोन्नति अन्तर्गत यस कार्यालय मातहत पर्ने सडकको स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा यस्तो सूचना जारी गरिएको डिभिजनका सूचना अधिकारी शिव खनालले जानकारी दिए । उनकाअनुसार अहिले सो ठेक्का अन्तिम स्वीकृतिको चरणमा छ ।