

३ घण्टा पहिले
समसामयिक घटनाक्रममा विक्रम संवत २०८२ र अङ्ग्रेजी संवत २०२५ र २०२६ साल नभुल्ने खालको छ। शान्ति एकता र विकासमा केन्द्रित वैश्विक लक्ष्य यो समयभित्र युद्ध, अशान्ति आन्दोलन भएकोछ। विश्वभरमा युद्ध र अशान्तिको वातावरण छ, जसमा अमेरिकाद्वारा भेनेजुएलाको राष्ट्रपतिलाई घरमै आक्रमण गरि बन्दी बनाउनु,अमेरिका र इजराइलले संयुक्त रुपमा इरानमा आक्रमण र इरानले पनि प्रतिआक्रमण गरिरहेको छ। छिमेकी मुलुक पाकिस्तान र भारतको पनि सैन्य युद्ध, बङ्गलादेशमा जेन्जी आन्दोलन र सत्ता पलट जस्ता कार्य भएका छन् भने अन्तर्राष्ट्रिय मञ्चमा सगरमाथा जस्तो उच्च स्वाभिमान, आत्मसम्मान, स्वाभिमान र स्वतन्त्र मुलुक, विश्व शान्तिको अग्रदूत गौतम बुद्ध जन्मेको राष्ट्र नेपालमा भएको जेन्जी आन्दोलनले विश्व मञ्चको ध्यान आकर्षण गर्यो।

जेन्जी आन्दोलन नेपालको ऐतिहासिक दिनको रूपमा भदौ २३ र २४ लाई लिइन्छ। जेन्जी आन्दोलन भन्दा पूर्व नेपालमा शिक्षक आन्दोलन चलिरहेको थियो। देशभरि सरकारी शिक्षकको अग्रसरतामा भइरहेको शिक्षक आन्दोलनले सरकारसँग थप हक अधिकारको माग गरेको थियो। शान्तिपूर्ण आन्दोलन भएतापनि आन्तरिक तनावको विकास भइरहेको थियो। त्यस समय मा पश्चात नेपालको सञ्चार मन्त्रालय द्वारा नेपाल सरकारको विद्युतीय ऐनमा आधारित रही सञ्चार मन्त्रालयमा सूचीकृत नभएका साइट र सञ्चार माध्यम सर्भर बाट बन्द गरियो। शिक्षक आन्दोलनको तातो हावा पश्चात २६ वटा संचार माध्यमको सर्भर डाउन गरेपश्चात जनआक्रोशमा नयाँ तागत आइपुग्यो। राज्यमा भएको भ्रष्टाचारले राज्यमा बढ्दो बेरोजगारी अवस्था, नातावाद, शक्ति र राज्यकोषको अनुचित प्रयोग, भूमिमा अनुचित स्वामित्व जस्ता कुराले जनतामा भित्र भित्रै आक्रोश पैदा भइरहेको थियो। २६ वटा समाजिक सञ्जाल र सर्भर डाउन गरेको सरकारले नागरिक स्वतन्त्रताको अभिव्यक्तिको अधिकार एवं प्रेस स्वतन्त्रताको हनन गरेपश्चात विसं २०८३ भदौ २३ गते माइतीघर मण्डला र संघीय संसद भवन अगाडि बाट आन्दोलनको शुरुवात भयो र सो आन्दोलनमा युवा समूहको जन चाप बढ्न गयो। अभिव्यक्तिको स्वतन्त्रताको हनन विरुद्ध शान्तिपुर्ण आन्दोलनका क्रममा जब आन्दोलनकारी संघीय संसदभित्र पस्न खोजे त्यस प्रयासमा एक आन्दोलनकारीमाथि गोली बर्सियो। शान्तिपूर्ण ढङ्गमा हुनुपर्ने आन्दोलनले हिंसात्मक रूप लियो। जसमा प्रहरीको गोली प्रहारबाट केही युवाको मृत्यु तथा कयौं घाइते हुने अवस्थिति आएपछि जनता तथा जेन्जी पुस्ता झन आक्रमक हुन थाले। यस बीचमा राज्यको अन्य क्षेत्रमा पनि आन्दोलन भइरहेका थिए जेन्जी पुस्ताले पनि ढुङ्गा दाउरा आदि जे जे भेटे त्यहीले आक्रमण गरे। आन्दोलन हिंसात्मक र रक्तपूर्ण बन्न पुग्यो। त्यसपश्चात राज्य भरि कर्फ्यु लगाइयो। अश्रुग्यास ,पानीको फोहोरा र गोली समेत प्रयोग गरेका सुरक्षा बललाई माथिल्लो तहको दबाब थियो भन्ने कुरा पछि निस्कियो। त्यसपश्चात भोलिपल्ट आन्दोलनले नयाँ मोड दियो। विसं २०८२ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो राजीनामा दिए ।त्यही दिन देशभर जेनजी समूहले राज्यको राजनीतिक भवन ,संघीय संसद,सिंहदरबार ,शीतल निवासमा रहेको राष्ट्रपति भवन ,बालुवाटारमा रहेको प्रधानमन्त्री ,भवन राजनीतिक दलको कार्यालय जलाए। यस क्रममा लुटपाट चोरी,डकैती, हिंसा हुनुका साथै अपराधी समेत जेलबाट भाग्न पुगे। यसरी भएकोले आन्दोलनले राज्यको लागि विनाशकारी सहित क्रान्तिकारी परिवर्तन ल्याउन पुग्यो।

भदौ २५ देखि राज्य भर शान्ति स्थापना तथा कानुनी पालनाको लागि नेपाली सेनाले पहलकदमी गरे र देशभर शान्ति स्थापनाका लागि केही स्थानमा कर्फ्यू लगायत भागेका अपराधी , अनावश्यक तथा अरुको निजी सम्पत्ति तोडफोड चोरी डकैती गर्ने समूह लगायत धनराशि सहित पक्राउ एवं हातहतियार जफत गरियो। त्यसपश्चात् आन्दोलन को महत्वपूर्ण लक्ष्य मध्ये एक भ्रष्टाचारको अन्त्यका लागि सत्ता र शासनमा पकडको लागि विसं २०८२ भदौ २६ गते राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोक राज सिग्देल र जेन्जी प्रतिनिधिहरूको बीचको छलफल पश्चात नेपालको आन्तरिम प्रधानमन्त्रीको रुपमा सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनपुग्यो। प्रधानमन्त्री भएपश्चात् उनको काम नै छ महिना भित्र चुनाव गर्नु थियो। भदौ महिनामा भएको जेन्जी आन्दोलन पश्चातको सरकारले विभिन्न कठिनाइका बाबजुद राज्य संचालन गर्यो र सरकारको प्राथमिकता अनुरुप नै चुनाव मिति घोषणा भयो जसबाट भएकाले राजनीतिक दलहरु पनि चुनावका लागि सक्रिय भए। विभिन्न दलहरुले भावी प्रधानमन्त्रीको रुपमा विभिन्न व्यक्तिहरुलाई प्रस्तुत गरेर निर्वाचनमा होमिए। त्यसपश्चात् विसं २०८२ फागुन २१ गते देशभर चुनाव भयो। चुनाव शान्तिपूर्ण र सफलतापूर्ण हुन पुग्यो। मत परिणाम अनुसार अध्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १६५ सिट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले अत्याधिक बहुमतका साथ १२५ सिट हासिल गरे भने पुरानो दलहरुले नराम्रो पराजय भोग्नु पर्यो । त्यसै गरि समानुपातिक निर्वाचन प्रणालीमा समेत ५० प्रतिशत भन्दा बढी भोट ल्याएर रास्वपले झन्डै दुई तिहाइको नजिक एकल बहुमतमा चुनाव जित्यो। अब प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह सुनिश्चित भएको छ। जेन्जी आन्दोलनबाट आएको परिवर्तन अब प्रभावकारी हुन्छ कि हुँदैन भन्ने कुरा नयाँ सरकारको कार्य सञ्चालनबाट स्पष्ट हुन्छ तर यो आन्दोलन विश्वभरले याद राख्नेछ।
कृष्ण खनाल मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिनको कक्षा ९ मा अध्ययनरत छात्र हुन्।