

४ घण्टा पहिले
तेहरान । अमेरिका र इजरायलले शनिबार बिहान तेहरानलगायत इरानका अन्य सहरहरूमा गरेको आक्रमणको जवाफ दिँदै इरानले पनि मध्यपूर्वमा रहेका कम्तीमा पाँचवटा प्रमुख अमेरिकी सैन्य अखडाहरूमा भारी क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानी क्षेप्यास्त्रको निसानामा परेका प्रमुख अमेरिकी आधार शिविरहरूमा कतारस्थित अल–उदेइद एयरबेस, कुवेतको अल–साल्मिया बेस, संयुक्त अरब इमिरेट्स (युएई) को अल(जाफ्रा एयरबेस, बहराइनस्थित पाँचौं अमेरिकी बेस र जोर्डनको किङ हुसेन एयरबेस रहेका छन्। इरानले यी क्षेत्रमा रहेका अमेरिकी सैनिक संरचनालाई लक्षित गरी आक्रमण तीव्र पारेको समाचारहरुमा जनाइएको छ ।
अरब सञ्चार माध्यमहरूले जनाए अनुसार इरानी क्षेप्यास्त्र आक्रमण सुरु भएसँगै कुवेत, बहराइन र युएईमा लगातार हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजिरहेका छन्। अमेरिकी सैन्य अखडाहरूका अतिरिक्त इजरायली क्षेत्रहरूमा पनि ठूला विस्फोटका घटनाहरू सार्वजनिक भएका छन्। प्राप्त विवरणअनुसार इजरायलको तेल अविव, अलकुड्स (जेरुसेलम) र बेयर सेभालगायतका क्षेत्रमा शृङ्खलाबद्ध विस्फोटका आवाजहरू सुनिएका छन्।