

२ घण्टा पहिले
हेटौडामा जारी महोत्सवमा कृषि तथा उत्पादनजन्य सामग्री भन्दापनि फुटपाथे सामानहरू बढी राखिएको जनगुनासाे छ । विशेष गरी पुराना तथा बिक्री नभएका सामानहरू बेच्नका लागि महोत्सवमा राखिएको भन्दै दर्शकहरूले गुनासो गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौडामा भइरहेको कृषि व्यापार तथा पर्यटन महोत्सव नाम मात्र भएको र पैसा असुल्न कै लागि मात्र आयोजना गरिएको भन्दै विरोध भइरहेको हो। कृषि उत्पादनका सामग्रीहरू तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताए पनि महोत्सव नियाल्दा त्यस्तो पाइँदैन । हेटौडा बजार भत्किएपछि बिक्री नभएका सामानहरू महोत्सवमा लगेर राखिएको र उत्पादनजन्य सामग्रीहरू भन्दा बाह्य तथा फुटपाथ जन्य सामानहरू बिक्री वितरणमा जोड दिइएको दर्शकहरुले प्रतिक्रिया दिएका छन्।

अर्कोतर्फ आयोजकले महोत्सव हेर्न आउने दर्शकहरूलाई मनलाग्दी प्रवेश शुल्क लिने गरेको भन्दै चौतर्फी विरोध भइ रहेको छ। हरेक दिनको प्रवेश शुल्क फरक पार्ने र दिनैपिच्छे शुल्क हेरफेर गरेर चर्को शुल्क उठाउने गरेको महोत्सवमा आउने दर्शकहरूको आरोप छ। आयोजकले मनलाग्दी ढंगले दर्शकहरुबाट प्रवेश शुल्क उठाइरहेको भएपनि प्रशासनले यसबारे कुनै पनि कारबाही नगरेको प्रति दर्शकहरुले गुनासो गरिरहेका छन् । यसप्रति प्रशासनसँगै सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउन समेत अपिल गरेका छन ।
विभिन्न राष्ट्रिय कलाकारहरूकाे नाम र व्यानरमा आयोजकले मनलाग्दी ढंगले शुल्क बढाउने गरेको भन्दै कतिपय दर्शकले आक्रोश व्यक्त गरेका छन्। तर यस विषयमा स्थानीय प्रशासन भने मौन बसेको छ। जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको बताए पनि नामको अनुगमन भएको भन्दै आलोचना समेत भइरहेको स्थानीयहरू बताउछन ।

श्राेतःहेटाैडा खबर