

२ घण्टा पहिले
माघ-२८, यातायात व्यवस्था विभागले विद्युतीय सवारी (ईभी) को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ।
हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि ईभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो। डिजेल बसको तुलनामा ईभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार ईभी बसको भाडादरलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन आवश्यक अध्ययन भइरहेको छ।
‘डिजेल बसको भाडादर तय भइसकेको छ, तर ईभी बसका हकमा स्पष्ट व्यवस्था छैन। त्यसैले लागत र सञ्चालन पक्षको अध्ययन गरी १० प्रतिशतसम्म भाडादर घटाउने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने।
विभागले सरोकारवालासँग परामर्श गरी चाँडै नै उपयुक्त निर्णय लिने जनाएको छ। निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भाडादर वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्नेमा आफूहरू सहमत रहेको बर्ताका छन्।
‘ईभी सवारीसाधनको हकमा ब्याट्री महँगो पर्ने भएकाले लागत पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ, डिजेल महँगो छ, तर ईभीमा ब्याट्री पनि महँगो छ। यी पक्षलाई मूल्यांकन गरेर वैज्ञानिक आधारमा भाडादर अलिकति घटबढ हुने कुरामा सहमत छौँ,’ उनले भने।
सञ्चालन खर्च, मर्मतसम्भार, इन्धन तथा प्रविधिसम्बन्धी लागतलाई पनि समेटेर वैज्ञानिक विधिअनुसार भाडादर समायोजन गर्नुपर्ने विषयमा छलफल गरेर मात्रै निर्णय हुनुपर्नेमा उनले जोड दिए।