× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • blog

    लुतो फ्याक्ने- सुनिल उलक

    ७ घण्टा पहिले

    साउन १ गतेको बिहानै देखी गाँउघरका केटाकेटीहरु भलायोको पात (कागभलायो). कुकुरडाइनु. लुतेझार. पानीसरो. देवीसरो. रातपाते. तिउरी. सिस्नो. सिउँडी. पानीअमला आदी खोज्न वन दौडन्थे । आँगनको डिलको बान्ना माथी ठूलो ढुङ्गामा गोरुको गोबरले लिपेर त्यस माथी गोबरको दुईटा डल्लो बनाएर गोबर माथि काँक्राको फूल लगाईन्थ्यो । गोबरको डल्लोको छेउमा पिँडालुको ठूलो पात, पात माथी हरियो मकैको घोघा, हरियो खुर्सानी, आरु, खनियो आदि राखिन्थ्यो । त्यसपछि घर भित्रबाट बलेको दुईटा राँको ल्याएर गोबरको डल्लोको दायाँ बायाँ राखिन्थ्यो । त्यस राँकोमा नौनी घ्यु मलेको तितेपातीको धूप राखिन्थ्यो । त्यसपछि घरभित्रबाट बलिरहेको अगुल्टो ल्याइ रातै बलिरहेको अगुल्टो लिएर भण्डारक राक्षसलाई भगाउन लुतो लैजा ! लुतो लैजा ! भन्दै चारैतिर फेक्ने गरिन्थ्यो । भण्डारक राक्षसले केटाकेटीलाई दुख दिने भएको हुँदा भण्डारकलाई लुतो लैजा लुतो लैजा भन्दै भाका लगाउने गरिन्छ । लुतो फ्याक्दा नाङ्लो ठटाउने. शंख फुक्ने तथा घण्ट बजाउने पनि गरिन्छ । यसरी घरमा भएका सबै बिकारका साथ लुतो फ्याकिन्थ्यो ।

    वास्तवमा लुतो फाल्ने चलनको शुरुवात हुनुको कारण भने असारे रोपाइमा खेतमा लडिबुडि खेलेपछि छालामा लाग्ने रोग निर्मुल पार्न जडिबुटी युक्त घाँस जलाएर त्यसको राप ताप्नु हो । जसले गर्दा छालामा लागेका लुतो तथा घाउखटिरा निको हुने बिश्वास गर्दथ्यो । तर अचेल समय बदलिसकेको छ । छाला चिलाए वा घाउखटिरा आएमा डाक्टरले बिभिन्न मलम दिइहाल्छन । तसर्थ लुतो फाल्ने दिनको महत्व घट्दै गएको छ ।

    ५६ वर्ष अगाडि पश्चिम नेपालको डोल्पा जिल्लाको सहरतारामा लुतो फाल्दा बालिएको अगुल्टोको दृश्य देख्न सकिन्छ । यस किसिमको दृश्य पश्चिम नेपालमा आज पनि देख्न पाउँछौ । तर अन्यत्र भने खासै देख्न पाइदैन ।

    लुतो लैजा! लुतो लैजा!! लुतो लैजा !!!