७ घण्टा पहिले
चितवन जिल्लाको साविक दारेचोक गाउँविकास समिति वडामा ४ मुग्लिनमा २०३७ सालमा जन्मेर हाल अमेरिकाको जर्जीया राज्यको एटलान्टामा श्रीमती, दुई छोरी र आमा संग बस्दै आउनु भएका दीपक भण्डारी, आफ्नो संघर्ष, साहस र आमाबाबुको आर्शिवादले इच्छाकामना गाउँपालिकाकै पहिलो विद्यावारिधी (पीएचडी) एवं पोष्ट डक्टरेट गर्न सफल भई अमेरिकाको सरकारी कार्यालयको उच्चतहमा पुग्ने गाँउपालिकाकै पहिलो व्यक्ति एवं वैज्ञानिक पनि हो ।
दीपक भण्डारी, पीएचडी, NRCC-CC एक क्लिनिकल केमिस्ट तथा वैज्ञानिक हुन्, जो संयुक्त राज्य अमेरिका सरकारको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) मा एक दशकभन्दा बढी समयदेखि जनस्वास्थ्य अनुसन्धानमा समर्पित छन्। उहाँको काम मानवीय स्वास्थ्यमा असर पार्ने हानिकारक रसायनहरूको मापनमार्फत रोग निवारण र नीतिनिर्माणमा सहयोग पुर्याउने उद्देश्यमा केन्द्रित छ।
उहाँले सन् २००४ मा त्रिभुवन विश्वविद्यालयबाट भौतिक रसायनशास्त्रमा स्नातकोत्तर (M.Sc.) गर्नुभयो र त्यसपश्चात बर्नहर्ट कलेज र युनाइटेड एकेडेमी मा रसायनशास्त्र अध्यापन गर्नुभयो।
सन् २००६ मा उहाँ अमेरिकाको टेनेसी विश्वविद्यालय, नक्सभिल बाट पूर्ण छात्रवृत्तिमा विश्लेषणात्मक रसायनशास्त्रमा सन् २०११मा विद्यावारिधि (Ph.D.) गर्नु भएको थियो। उहाँको अनुसन्धान नानो प्रविधि र रासायनिक विश्लेषणमा केन्द्रित थियो।
त्यसपछि उहाँले सन् २०१४मा अमेरिकी ऊर्जा मन्त्रालय अन्तर्गत ओक रिज नेसनल ल्याबोरेटरीमा २.५ वर्षको पोस्टडोक्टरल फेलोशिप पूरा गर्नुभयो।
पोस्टडोक्टरल फेलोशिप पूरा गरे लगत्तै अमेरिका सरकारको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) मा नियुक्त हुनु भएको थियो। CDC मा उहाँले राष्ट्रिय बायोमोनिटरिङ कार्यक्रम अन्तर्गत कार्य गर्दै आउनु भएको छ। यस कार्यक्रमले मानव शरीरमा रसायनहरूको मापन गरी मधुमेह, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोगजस्ता दीर्घकालीन रोगहरूको कारण पहिचान गर्न सहयोग पुर्याउँछ।
डा. भण्डारी जन स्वास्थ्य विभागको उच्चतहमा कार्यरत मात्र नभएर एक क्लिनिकल डायग्नोस्टिक प्रयोगशाला सह-संस्थापक पनि हुनुहुन्छ ।
उहाँ उच्च सरकारी कर्मचारीको रूपमा मात्र काम नगरेर एक सफल उद्यमीको रुपमा राष्ट्रिय स्तरको पेट ब्रान्डका कम्पनी खोलेर पनि सफलता हासिल गर्नुभएको छ। यस कम्पनीमार्फत उहाँले अमेरिकामा मात्रै नभएर नेपालका धेरै कृषकहरुको जीवनस्तर परिवर्तन गर्न सहयोग गरेको छ।
नेपालमा जन्मेर अमेरिकालाई कर्मथलो बनाए पनि नेपालको समग्र स्वास्थ्य क्षेत्रलाई नै सकारात्मक परिवर्तन गर्नका लागि बृहद राष्ट्रिय स्तरको बायोमोनिटरिङ कार्यक्रम सञ्चालनका लागि प्रयासरत छन्।
उहाँ विश्वास गर्नुहुन्छ कि नेपालमा पनि बायोमोनिटरिङ कार्यक्रमको अत्यन्त आवश्यकता छ, जसले दीर्घकालीन रोगहरूको कारण बुझ्न र वैज्ञानिक आधारमा जनस्वास्थ्य नीति बनाउनुमा ठूलो सहयोग पुर्याउनेछ। जसले आम नागरिकलाई केही हदसम्म भएपनि दीर्घकालीन रोगहरूबाट छुटकारा दिलाउन मद्दत गर्नेछ।
अमेरिकामा जनस्वास्थ्यको उच्च पदमा रहेर अमेरिकी जनताको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्दै दीर्घकालीन रोगहरू लाग्नबाट रोक्न प्रयास गरिराख्नु भएका भण्डारीले भविष्यमा नेपाल सरकारलाई यस्तो कार्यक्रम स्थापना गर्न सहयोग गर्न चाहना राख्नुहुन्छ।
यो बृहत राष्ट्रिय स्तरको कार्यक्रम रहेकोले एकल प्रयासले मात्र सम्भव नहुने हुँदा नेपाल सरकारले नै यसतर्फ चासो दिएमा यसले नेपालको स्वास्थ्य क्षेत्र नै कायापलट हुने उहाँ विश्वास गर्नुहुन्छ।
डाक्टर दीपक भण्डारी अमेरिकाको जनस्वास्थ्यको उच्चतहको कर्मचारी एवं उद्यमी मात्र नभएर विभिन्न सामाजिक संस्थाहरूमा पनि संलग्न रहेका छन्। उहाँले कोभिडको बेलामा नेपालमा विभिन्न तहमा सहयोग गरेका थिए। उहाँ इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनमा रहेकाे मर्स्याङ्दी शिक्षा सदन स्कुलका मानार्थ प्रमुख सल्लाहकार पनि हुन्।
यसरी इच्छाकामनामा जन्मेर अमेरिकाको जनस्वास्थ्य कार्यालयको उच्च तहमा काम गर्नुका साथै सफल उद्यमी बन्न सफल दीपक भण्डारी यस पालिकाकै उज्ज्वल नक्षत्र एवं युवावर्गको प्रेरणाको स्रोत हुन्।