२ महिना पहिले
चितवन, निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) चितवनको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता २०८१ सम्पन्न भएको छ । जिल्ला भित्रका ७ पालिकाबाट छनौट भएका १७ वटा विद्यालय मध्ये १२ वटा विद्यालयले उक्त प्रतियोगितामा भाग लिएका थिए ।
प्याब्सन चितवन लोकनृत्य प्रतियोगिताका संयोजक रत्ननगर प्याब्सनका अध्यक्ष पशुपति शर्मा उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन प्याब्सनका अध्यक्ष कृतिनिधि अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्पन्न प्रतियोगितमा मन शिक्षा मन्दिर इङ्लिस बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरि स्मल हेभन मोडल स्कुल, नारायणगढ द्वितीय स्थान हासिल गर्न सफल भएको छ, भने शिक्षा विकास स्कुल रत्ननगर टाँडी तृतीय स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा विजयी भएका तीनवटा विद्यालयले बागमती प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त कार्यक्रम मसिंर १७ गते भक्तपुरमा आयोजना हुनेछ ।
चितवन प्याब्सनका सचिव मदन पुरी तथा कोषाध्यक्ष विष्णुमणि लामिछानेले सञ्चालन गरेको कार्यक्रममा इच्छाकामना प्याब्सनका अध्यक्ष टंक त्रिपाठी, विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा विद्यार्थीहरू उपस्थित रहेका थिए।
प्रतियोगितालाई निष्पक्ष बनाउनका लागि राष्ट्रिय नृत्य निर्देशक केशव थानेत, सन्दीप बोहरा तथा सुशील बराल निर्णायक मण्डलका रूपमा रहेका थिए।
विशुद्ध मौलिकता झल्कने प्राचीन नेपाली समाजको लोक नृत्य विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको र विजयी भएका विद्यालय तथा विद्यार्थीहरूलाई पुष २० गते पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिने कार्यक्रमका संयोजक पशुपति शर्मा उपाध्यायले बताए।