× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फागुन १ गतेदेखि बेनी–जोमसोम सडकखण्ड दैनिक साढे छ घण्टा बन्द हुने

    १ वर्ष पहिले

    माघ-२९, म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकखण्ड फागुन १ गते देखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा गाडी चल्ने र बन्द हुने समय तालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आउँदाे फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ बजेर ३० मिनेटदेखि १ बजेर ३० मिनेटसम्म र राति ८ बजेर ३० मिनेटदेखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिनुभयो ।

    एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई सहज आवतजावत र साना गाडी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाइएको उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायीले बेनी–जोमसोम-कोरला सडक आयोजनामार्फत् प्रशासनमा समय तालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर एक सय दुई मिटर दूरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मङ्गलादेवी–सुवास जेभीसँग  १२ करोड २५ लाख ९४ हजार चार सय ३६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

    सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताउनुभयो । पचासी जना मजदुरका साथै तीनवटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा आठ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ ।