× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    सीमामा तनावका बीच भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

    ४ वर्ष पहिले

    भारत र चीनबीच सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव न्यूनीकरण गर्ने विषयमा दुवै देशका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ।

    रुसको मस्कोमा आयोजित सां‌घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनमा सहभागी हुन पुगेका भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच बिहीबार राति वार्ता भएको हो।

    वार्ताको क्रममा लद्दाखमा एलएसीमा जारी तनाव कम गर्न दुवै देशबीच पाँच बुँदे सहमति भएको बताइएको छ। बिहीबार भएको बैठक करीब तीन घण्टा चलेको थियो।

    भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, भारतीय विदेशमन्त्री जयशंकरले भारत एलएसीमा भइरहेको तनाव थप बढाउन नचाहने स्पष्ट पारेका छन्। यस्तै, चीनप्रति भारतको नीतिमा कुनै परिवर्तन नआएको र भारतप्रति चीनको नीतिमा पनि सोही अपेक्षा गरेको पनि उनले बताए।

    चिनियाँ विदेश मन्त्रालयले छिमेकी देश हुनुको नाताले चीन र भारतबीच केही विषयमा असहमति हुनु स्वाभाविक भएको र ती असहमतिलाई वस्तुगत रुपमा हेरिनुपर्ने बताएको छ।

    चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै एएनसआईले लेखेको छ, “चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र भारतको सम्बन्धमा केही असमझदारी उत्पन्न भएको छ, तर जबसम्म दुवै पक्ष आफ्नो सम्बन्धलाई सही दिशमामा बढाइरहन्छन्, तबसम्म कुनै समस्या आउँदैन र समाधान गर्न नसकिने कुनै चुनौती पनि हुँदैन।”

    गत साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले मस्कोमै एससीओ बैठकको दौरान चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए। उक्त वार्तापछि चाँडै दुवै देशका विदेशमन्त्रीको पनि बैठक हुने बताइएको थियो।

    भारत र चीनबीच सीमाको तनाव मत्थर गर्न एलएसीमा पनि सैन्य तहमा संवाद चलिरहेको छ। बिहीबार दुवै सेनाका बीच ब्रिगेडियर स्तरमा कुराकानी भएको थियो।

    यसअघि दुवै देशबीच लेफ्टिनेन्ट जनरलको तहमा संवाद भएको थियो। तर, तनाव कम गर्नमा त्यसबाट प्रगति हन सकेन।

    भारत र चीनले एक-अर्का देशका सेनाले एलएसी पार गरेको र उक्साएको आरोप-प्रत्यारोप लगाउँदै आएका छन्। – एजेन्सी